सोलुखुम्बु। सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकामा चारदिने पर्यटन उद्धमशिलता, पर्यटन सत्कार, आधारभूत कुकिङ तथा सरसफाइ तालिम सम्पन्न भएको छ।
गाउँपालिकाको समन्वय तथा युएनडीपीको सहयोगमा नेपाल ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (TAAN) द्वारा सञ्चालित जीबिकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजना(STLRP) अन्तरगत बैशाख १३ गते खास्तापमा सुरु तालिमको आइतबार गाउँपालिका अध्यक्ष बुद्दिकिरण राईले समापन गर्नुभएको हो।
कार्यक्रमको समापन गर्दै अध्यक्ष राईले पर्यटन बिकासमा सहकार्य गर्ने गरी टानसंग भएको साझेदारी सम्झौता अनुसार तालिम सञ्चालन भएको जानकारी दिंदै तालिममा सिकेको सीपलाई व्यबहारमा उतार्न सके आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धनमा यसले महत्त्वपूर्ण योगदान गर्ने बिश्वास व्यक्त गर्नुभयो।अर्गानिक रैथाने उत्पादनबाट आधुनिक परिकार तयार गर्दा त्यसले पर्यटकलाई आकर्षित गर्न मद्दत गर्ने अध्यक्ष राईको भनाई थियो।
गाउँपालिकाको सभाहलमा सञ्चालित सो तालिममा ७ वटै वडाका २० जनाको सहभागिता रहेको थियो।सहभागीहरुलाई आधारभूत कुकिङ तालिम अन्तरगत विभिन्न ४३ प्रकारका परिकार निर्माण सम्बन्धि प्रशिक्षण दिइएको गाउँपालिकाले जनाएको छ।
टानमा आवद्ध पर्यटनबिद् तथा कुकहरु अजित आचार्य, सन्दीप अधिकारी र राजु चित्रकारले सहभागीहरुलाई प्रशिक्षित गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र यादवले जानकारी दिनुभयो।
यादवका अनुसार आधारभूत कुकिङ परिकार तालिम अन्तरगत बैशाख १४ गते भेज पकौडा,गोलभेंडा सस,खास्ताप पास्ता,स्क्राम्बल्ड अण्डा,कोदोको प्यान केक,स्कुस पकौडा,खास्ताप रोल,भ्यास्ड आलु ,पोच्ड अण्डा,गुँरास सर्बत,चिकेन क्रिमा सुप र ब्रेकफाष्ट सेट, बैशाख १५ गते आलु पराठा, भेज पिज्जा, लच्छा पराठा, भ्योनाईज सस, निबारो कबाब,फर्सी केक,ग्रेभी लेदो,आलु जिरा,पिरो सस र आलु टिक्का तथा बैशाख १६ गते फर्सी केक,आलु जिरा,आलु चिप्स,चिकेन चिल्ली,ग्रीन सलाद,पोर्क सेकुवा,माप्री सलाद,अदुवा पुलाउ,मसला पुलाउ,जिरा पुलाउ,मटर पनिर,कुखुरा रोस्ट,आलु फ्राइज,सिंवी सांधेको,चिकेन ललिपप,चिकेन ड्रमस्टिक,निबारो ग्रेभी, सिंवी साँधेको,मिक्स अचार,खालिङ पन्च,खालिङ कोदो पुलाउ र चिकेन चिल्ली तयार गर्ने सम्बन्धी तालिम दिइएको थियो।
तालिम सीपमूलक र जीवनपयोगी भएको भन्दै सहभागीहरुले खुसी व्यक्त गरेका छन्। रोजगारी र अर्थोपार्जनमा सहायक बन्ने यस किसिमको तालिम अवसर दिएको भन्दै उनीहरूले गाउँपालिकालाई धन्यवाद समेत दिएका छन्।




















